कास्कीमा एमाले एकढिक्का-सबै जनप्रतिनिधिहरु एमालेमै रहने

काठमाडौं ! नेकपा एमालेबाट कास्कीमा निर्वाचित भएका सवै जनप्रतिनिधिहरु एमाले पार्टीमै रहने भएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा कास्कीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् ।

पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।  भेलामा कास्कीका ४ गाउँपालिका, पोखरा महानगरपालिका, प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकमा जननिर्वाचित प्रतिनिधिहरू सहभागी भएका थिए ।

कास्कीमा ५ पालिकामध्ये अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष बाहेक सबै पालिकामा अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेले जितेको थियो । त्यस्तै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङसहित २२ वटा वडाध्यक्ष नेकपा एमालेले जितेको थियो भने ११ वटा वडा अध्यक्ष नेपाली काँग्रेस विजयी भएको थियो ।

पोखरा महानगरपालिकामा एमालेबाट ७१ जना पुरुष र ५१ जना महिलासहित १२२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । पार्टी विभाजन पछि पनि १२२ जनाले नै एमालेलाई साथ दिएको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन ।

कास्कीको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष सगुन गुरुङसहित सबै वडाअध्यक्ष र सदस्यहरू नेकपा एमालेमा लागेका हुन । प्रतिनिधिसभाका लागि ३ वटा निर्वाचन क्षेत्र भएको कास्कीमा ६ वटा प्रदेश सभा र ५ वटा स्थानीय तह छन् ।  प्रतिनिधिसभामा ३ र प्रदेश सभामा समानुपातिक सहित ८ सांसद सवै एमालेले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *