एमाले कैलाली : यी हुन् धनगढी उपमहानगरपालिकामा मेयर पदका आकांक्षीहरु

धनगढी ! स्थानीय निर्वाचन नजिकिदै जाँदा स्थानीय तहहरुमा उम्मेदवारी दिन चाहने आकाङ्क्षीहरुको संख्या बढ्दै गएको छ। देश संघीयतामा गैसकेपछिको पहिलो प्राक्टिस अर्थात् संघ,प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल अब सकिंदै छ। सरकारले यहि बैशाख ३० गतेलाई स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेसँगै राजनैतिक पार्टीहरुले आ-आफ्ना उम्मेदवारहरु अघि सार्न सुरु गरिसकेका छन् ।

यसैगरी सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि देशको प्रमुख पार्टी नेकपा एमालेमा ४ जना आकाङ्क्षीहरु देखिएका छन् । राजनैतिक जीवनमा विभिन्न आरोह-अवरोहहरु पार गरेका उनिहरुले हिजो एमाले धनगढी उपमहानगरको बैठकबाट नगर प्रमुखमा आ-आफ्नो उम्मेदवारी हुने आकांक्षा व्यक्त गरेको जनाइएको छ।

प्रमुख(मेयर)पदमा आकांक्षी मध्ये पहिलो नाम हो-जीवन बम। नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका बम सुदुरपश्चिममा एमालेका हस्ती हुन् । लामो समय राजनैतिक एवं सामाजिक कार्यमा आफ्नो समय व्यतित गरेका उनलाई मेयरको दरिलो उम्मेदवारको रुपमा हेरिएको छ।

त्यसैगरी एमालेमा सरल स्वभावका धनीका रुपमा चिनिने केन्द्रिय निर्वाचन विभाग सदस्य रण बहादुर चन्द अर्का आकांक्षी रहेको जनाइएको छ । चन्द एमाले कैलालीमा अति चर्चित नाम हो। सरल स्वभाव र अवसर नपाएका मध्येमा पर्ने उनी कार्यकर्ता र जनतामाझ लोकप्रिय छन् । एमालेको गत जिल्ला अधिवेशनमा अध्यक्ष पदमा ४ मतले पराजित उनलाई मेयर पदका लागि अर्को दरिलो पात्रको रुपमा हेरिएको छ।

त्यसैगरी स्थानिय जनतामाझ लोकप्रिय अर्का आकांक्षी राजेश खाती रहेको बताइएको छ। एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका खाती हाल शिवनगर खानेपानी संस्थाका अध्यक्ष समेत हुन् । राजनैतिक एवं सामाजिक कार्यमा तल्लीन रहने उनलाई पनि मेयरको दरिलो पात्रको रुपमा हेरिएको छ।

त्यसैगरी धनगढीको मेयर पदमा एमाले जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशीले पनि आफ्नो दावेदारी प्रस्तुत गरेको जनाइएको छ । जोशी गत निर्वाचनमा पनि एमालेको तर्फबाट मेयर पदको उम्मेदवार थिए। सेती प्रादेशिक अस्पतालको अध्यक्ष भै जनताको सेवा गरेका उनले यसपटक विगतको भन्दा फरक जनमत प्रभाव पार्ने आकलन सहित उम्मेदवारी घोषणा गरेको बताइएको छ।

धनगढी मेयर पदका लागि एमालेका तर्फबाट केही अरुले पनि आकांक्षा राखेपनि पार्टीमा योगदान र क्षमताको हिसाबले माथी उल्लेखित ४ जनाबाटै एक जनाले मेयरको टिकट पाउने संभावना पनि देखिन्छ। नगरको प्रस्तावमा जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिस हुँदै केन्द्रिय कमिटीले नाम टुंगो लगाउने एमालेले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *