निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति : गरायो आयोगलाई ध्यानाकर्षण

काठमाडौं ! निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा नेकपा एमालेले ६ बुँदे असहमति जनाएको छ । निर्वाचन आयोगमै पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टिमले ६ बुँदे असहमति दर्ता गराउनु भएको हो ।

राजनीतिक दलले मत माग्न, उम्मेदवारले प्रचार गर्न र सामाजिक सञ्जाल प्रयोग गर्नमा लगाइएको रोकप्रति एमालेले आपत्ति जनाएको छ । निर्वाचित जनप्रतिनिधिले प्रचारमा संलग्न हुन नपाउने प्रावधानप्रति समेत एमालेले असहमति जनाउँदै प्रधानमन्त्री र मन्त्रीले प्रचार गर्न पाउने तर जनप्रतिनिधिले नपाउनु पक्षपात भएको दाबी गरेको छ ।
सामाजिक सञ्जाल, वेबपेज र टेलिफोनमार्फत चुनाव प्रचार गर्न नपाइने प्रावधानप्रति समेत एमालेले आपत्ति जनाएको छ । सामाजिक सञ्जाल प्रयोग गरेर हुने प्रचार कम खर्चिलो हुने भएकाले यसलाई खुकुलो गर्नुपर्ने एमालेको धारणा छ ।

फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा समेत एमालेको असहमति छ । विवाद देखिएका बेला मतदान अधिकृत र निर्वाचन अधिकृतको निर्णय नै अन्तिम मान्ने प्रावधानले धाँधलीविरुद्ध अदालतमार्फत प्राप्त हुनसक्ने अधिकारमाथि अंकुश लगाउन खोजेको एमालेको आरोप छ ।
एमालेले संविधान र कानून अनुसारका आचारसंहिता र प्रावधान पालना गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *