एमालेले भन्यो-सरकारले महाकाली तुइन प्रकरणमा संवेदनहीनता र लाचारी देखायो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर बेपत्ता भएका जयसिंह धामीलाई न्याय दिलाउने कुरामा सरकारले लाचारी देखाएको भन्दै आपत्ति जनाएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बिहीबार विज्ञप्ति जारी गर्दै नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहलसमेत गर्न नसेको आरोप लगाउनु भएको छ।

‘आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवनसँग जोडिएको यस्तो गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै नेकपा (एमाले) यस अविलम्ब घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारवाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गर्दछ ।’

धामी नदीमा बेपत्ता भएको एक महिनाभन्दा बढी समय बित्दा पनि सरकार यो घटनालाई थापथुम पार्न लागेको आरोप एमालेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा छानविन गर्न गठित समितिको म्याद पटक-पटक थपेर निकै ढिलो गरी प्रतिवेदन बुझाइए पनि प्रतिवेदन अस्पष्ट रहेको र सरकार यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *