काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध गरिएको गठबन्धनले पार्टीलाई कुनै असर नगर्ने प्रष्ट पार्नु भएको छ । प्रेस चौतारी रुपन्देहीले आज बुधबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढी स्थानमा जित्ने दाबी गर्दै गठबन्धनको कुनै औचित्य नभएको प्रष्ट पार्नुभयो ।
उपाध्यक्ष पौडेलले एमालेलाई सिध्याउन कानूनको धज्जी उडाएर अदालत न्यायलयलाई दूरुपयोग गरेर, मिडियालाई प्रयोग गरेर लागे पनि सफल नभएको भन्दै राष्ट्रिय राजनीतिको नेता एमाले रहेको बताउनु भयो ।
उहाँले गत निर्वाचन भन्दा यस पटकको निर्वाचनमा गुणात्मक जित हासिल गर्ने दाबी गर्दै एमालेले गरेका ठूला–ठूला बिकास निर्माणका कामहरुलाई जनता समक्ष ल्याउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उपाध्यक्ष पौडेलले अन्य दलहरुले गठबन्धन गर्नु र नगर्नुमा कुनै अर्थ नभएको जिकिर गर्दै एमालेको विजयी यात्रालाई कसैको तागतले रोक्न नसक्ने जिकिर गर्नुभयो ।