वैशाखी टेक्ने सत्ता गठबन्धनलाई आगामी निर्वाचनबाट धुलो चटाइन्छ : सचिव अर्याल

स्याङ्जा । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले कांग्रेस लगायतको गठबन्धनलाई आगामी निर्वाचनमा पराजित गरि छाड्ने दावी व्यक्त गर्नुभएको छ ।

आज मंगलबार अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी स्याङ्जाको सातौं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव अर्यालले भन्नुभयो, ‘वैशाखी टेक्ने गठबन्धनलाई आसन्न तीनै तहको चुनावमा पराजित गरिन्छ । परमादेशबाट बनेको गठबन्धन सरकारलाई हराउनुको विकल्प छैन ।’
उहाँले थप्नुभयो-`एमालेलाई घेराबन्दी गर्न बनेको अपवित्र गठबन्धनको विकल्प जनादेश भएकाले जनताले निर्वाचनमा सही निर्णय गर्नेछन्।जनताको अपार मतबाट फेरि एमालेको नेतृत्वमा जनताको सरकार स्थापित हुनेछ।´

मोर्चा एवम् गठबन्धन कमजोरीको परिचय भएको उल्लेख गर्दै जनताको पार्टि एमाले गठबन्धनसँग एक्लै चुनाव लड्ने सामर्थ्य राख्ने उहाँले दावी गर्नुभयो । ‘एमालेले दलीय गठबन्धन होइन, जनताबिचको गठबन्धन गर्छ।’उहाँले थप्नुभयो, ‘एमालेसँग प्रष्ट जनआधारको गठबन्धन भएकाले एक्लै चुनाव लड्ने हिम्मत राख्छ ।’ एमालेलाई कमजोर नठान्न गठबन्धनलाई चेतवानी समेत दिनुभयो ।

गठबन्धन सरकारले गर्ने सबैखाले क्रियाकलापहरु मुलुकको समृद्धि र नागरिकको हित विपरीत भैरहेको बताउदै निर्वाचन एकमात्र विकल्प भएको जिकिर गर्नुभयो । एमाले विरुद्ध चौतर्फी हमला र मोर्चाबन्दी बढ्दै गएकाले त्यसले एमालेलाई भन्दा मुलुकलाई अहित हुने उहाँको जिकिर छ । ‘एमाले पार्टीको भविष्य के होला ? त्यसको चिन्ता गठबन्धनले लिनु पर्दैन । मुलुक र नागरिकको भविष्य बारे चिन्ता लिनुस्’, सचिव अर्यालले भन्नुभयो ।

उक्त कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य टुका हमाल, सीता सुन्दास, सीमा क्षेत्री, किशोरविक्रम मल्ल, नेकपा (एमाले) प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी, प्रतिनिधिसभा सदस्य नारायण प्रसाद मरासिनी, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य मिनप्रसाद गुरुङ र नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सूर्य प्रसाद गैह्रे र अनेमसंघ गण्डकी प्रदेश ससंयोजक तारा थापा मगरले समेत आफ्ना धारणाहरु राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *