कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाण्डाै ! नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने चेतावनी दिनु भएको छ ।

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दाबी गर्नु भयो ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उहाँको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय चुनावमा आफूहरुले जोगाइदिएको र माधव नेपालहरु अवको चुनाव पछि समाप्त हुने बताउनु भयो ।

‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ’ उहाँले भन्नु भयो, ‘त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन । बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु पनि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *