एमालेलाई फेरिपनि पहिलो पार्टी बनाउने अभियानमा सक्रिय अध्यक्ष ओली

काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनाबी अभियानमा देशव्यापी दौडधूप बढेको छ ।

१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर अध्यक्ष ओली जनतासामु मत मागिरहनु भएको छ । स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हुँदै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले एमालेलाई निर्वाचनमा जित हासिल गर्न चुनौतीपनि छ ।

दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि अध्यक्ष ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय हुनुहुन्छ। जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उहाँले चुनावी अभियान’ सरह बोल्ने र सहभागिता जनाइरहनु भएको छ । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि मेहनत भने जरुरी छ। गत स्थानिय निर्वाचनमा पनि मेहनत गरेकाले परिणाम राम्रो आएको थियो।

पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई अध्यक्ष ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिनुभएको छ । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उहाँले दिनुभएको छ।

गत २ चैतमा संसदीय दल बैठकमा सहभागी उहाँ त्यसअघि जिल्ला दौडामा हुनुहुन्थ्यो । उहाँले विभिन्न सभामा सहभागिताका साथै काङ्ग्रेस-माओवादीका विशिष्ट व्यक्तिहरुलाई एमालेमा भित्र्याउनु भयो अहिले उहाँ हप्ताको १/२ दिन काठमाडौं उपत्यकाबाहिर पुगिरहनु भएको छ । अध्यक्ष ओली दैनिक १८ घण्टा खट्ने गरेको उहाँको सचिवालयले जनाएको छ ।

यस्तै दौडधूप र मेहनतले गत स्थानीय तह निर्वाचनमा एमाले ‘पहिलो पार्टि’ बनेको थियो र यसपटक पनि बाजि मार्ने सबैको आकलन छ।

पाँच दलीय गठबन्धन संयुक्त रूपमा चुनावमा जानसक्ने भएकाले एमालेका लागि केहि चुनौती रहेपनि जनता एमालेकै पक्षमा देखिएका छन् ।केही कठिन परिस्थिति बुझ्नुभएका अध्यक्ष ओलीले त्यस्तो परिस्थितिलाई सहज बनाउन देशव्यापी अभियान चालेको हुनसक्ने देखिन्छ र यो अभियान सफल भै एमाले पहिलो दल बन्नेमा उहाँ लगायत शुभेच्छुकहरु ढुक्क देखिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *