गुल्मीमा एमाले एकढिक्का : रामकुमारी झाँक्री बाहेक अधिकांश नेता एमालेमै रहने

काठमाडौं ! एमालेको गुट–संघर्षमा माधव नेपाल पक्षको पकड रहेको गुल्मीमा नवगठित एकीकृत समाजवादी पार्टीमा जानेको संख्या नगण्य देखिएको छ ।

सचिव गोकर्ण बिष्टले नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएपछि सांसद र स्थानीय तहका पदाधिकारी कोही पनि समाजवादी पार्टीमा लागेनन् ।

गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । तीमध्ये सातवटा नेपाल पक्षका र एकजना अध्यक्ष केपी ओली पक्षका निर्वाचित थिए । एमाले जिल्ला अध्यक्षसमेत रहेका छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त मात्र ओली पक्षका एक्ला पालिका प्रमुख थिए । बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व थियो । पार्टी विभाजनमा उनीहरु कोही पनि समाजवादीतर्फ लागेनन् ।

‘पार्टी छाडेर बलियो हुन सकिन्न, विमति भए पनि पार्टीभित्रै अन्तरसंघर्ष गर्नु तर नयाँ पार्टीमा नजानु’ भन्ने स्थानीय मतदाताको दबाबपछि नै बिष्टले नेता नेपालको साथ छाडेको बताइन्छ । बिष्ट एमालेमै रहेपछि समाजवादीको प्रभाव शून्य भएको स्थानीय एमालेको दाबी छ ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले पार्टीका विवादमा जिल्लाका नेता कार्यकर्ताहरु एकठाउँ उभिएकाले विभाजनको प्रभाव नपरेको बताए । सचिवद्वय प्रदीप ज्ञवाली र बिष्ट पार्टी एकता जोगाउन लागेकाले गुल्मीमा विभाजनको प्रभाव नदेखिएको उनको दाबी छ । ‘रामकुमारी झाँक्रीबाहेक एमालेबाट नयाँ पार्टीमा जाने खासै कोही छैन,’ उनले भने, ‘बरु माओवादीबाट केही नेता एमालेमा आएकाले पार्टी बलियो भएको छ ।’

नेपाल पक्षले केही महिनाअघि देशैभरी समानान्तर कमिटीसमेत गठन गरेको थियो । गुल्मीमा नेपाल पक्षबाट मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा जिल्ला अध्यक्ष भएका थिए । तर सापकोटाले पनि अहिले नेपालको साथ छाडेका छन् । पार्टीभित्र अन्तरसंघर्ष रहे पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको उनले बताइसकेका छन् ।

पार्टी विभाजनको अन्तिम क्षणमा सचिव बिष्ट एमालेमै रहे पनि गुल्मी क्षेत्र नं. २ कै नेतृ रामकुमारी झाँक्री भने नेकपा एकीकृत समाजवादीमा लागेकी छिन् । निर्वाचिन आयोगमा पार्टी दर्ता देखि सनाखतसम्म अग्रपंक्तिमा देखिएकी झाँक्री समानुपातिक सांसद हुन् ।

माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद दिनेश पन्थी एमालेमा प्रवेश गरेकाले सो क्षेत्रमा एमालेको प्रभाव थप बलियो भएको छ । चर्चित युवा नेता भए पनि गृहजिल्लामा झाँक्रीको खासै प्रभाव देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *