एमाले नेता खगराज अधिकारीलाई कारबाही गर्न अर्का युवा नेता महेश बस्नेतको माग

काठमाडौं ! नेकपा (एमाले)का नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट हटाउन माग गरेका छन् । नेता अधिकारीमाथि संगठन विभाग चलाउन अयोग्य रहेको आरोप लगाउँदै उक्त जिम्मेवारीबाट मुक्त गर्नुपर्ने नेता बस्नेतले माग गरेका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले पार्टी नेतृत्वसँग यस्तो माग गरेका हुन्। पार्टीको सचिवालय बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाएको भन्दै अधिकारीप्रति बस्नेतले आक्रोश पोखेका छन्।

अधिकारीलाई सम्बोधन गर्दै उनले फेसबुकमार्फत् सोधेका छन्, ‘पार्टीको सचिवालयको बैठकले कार्यविधि पारित गरिसकेपछि त्यससँग बाझिने गरी केन्दीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो? युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो? संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो? एमाले विरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हाबी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो?’

बस्नेतले अधिकारीलाई संगठन विभाग चलाउन अयोग्यको आरोप लगाउँदै जिम्मेवारीबाट हटाउनुपर्ने माग गरेका हुन्। उनले भनेका छन्, ‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाईँ संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन्। तसर्थ खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *