पेट्रोलियम पदार्थ उत्खननमा चासो दिन एमाले अध्यक्ष ओलीको आग्रह

 

काठमाण्डाै‌ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह  गर्नुभएको छ । उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उहाको भनाइ छ ।अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उहाले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो। अध्यक्ष ओली प्रधानमन्त्री हुँदा दैलेखको नाभिस्थान, शिरस्थान, पादुका, धुलेश्वर, कोटीलालगायतका क्षेत्रमा चीन सरकारसँग जिटुजी सम्झौता गराइ सम्भाव्यता अध्ययनको काम थालिएको थियो ।

भेटमा अध्यक्ष ओलीले कर्णालीले दैलेखमा भएको पेट्रोल खानीको उत्खनन्, मुगुको रारा तालको प्रवर्द्धन, हुम्ला हुँदै मानसरोवर जाने मार्गको विकास, डोल्पा, मुगु र हुम्लामा पाइने जीवनबुटी (यार्सागुम्बा) लगायतका बहुमूल्य जडीबुटीको बुद्धिमतापूर्ण सङ्कलन र प्रशोधनको कामको थालनी भएमा सो प्रदेशको पहिचान नै बदलिने बताउनु भयो ।कर्णाली प्रदेश स्रोतसाधनमा धनी भएकाले हावाबाट बिजुलीको उत्पादन, जडीबुटीको पहिचान र प्रशोधन पनि गर्न सकिए प्रदेशका साथै देशकै समृद्धि उल्लेख्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *