आफू जित नजिक रहेको कैलाली – ५ का एमाले उम्मेद्वार ढुङ्गानाको दाबी

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले आफू निर्वाचनमा जितको निकै नजिक पुगेको दाबी गरेका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘प्रेस चौतारीसँग उम्मेदवार’ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन, कार्यकर्ता तथा आम नागरिकबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको बताए ।

ढुङ्गानाले आफूलाई पार्टीले युवा उम्मेदवारका रूपमा अघि सारेको उल्लेख गर्दै त्यसले ऊर्जा, नवीन सोच र परिणाममुखी कार्यशैलीलाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । ‘युवा उम्मेदवार भएकै कारण म जनताको अपेक्षा र चाहनालाई नजिकबाट बुझ्न सक्षम छु,’ उनले भने । उनका अनुसार पार्टीका विभिन्न तहका संगठनहरू सक्रिय रूपमा परिचालन भएका छन् र घरदैलो अभियानका क्रममा नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

उनले भ्रमपूर्ण प्रचारप्रसार नगर्ने स्पष्ट पार्दै कार्यान्वयन गर्न सकिने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको बताए । ‘जनतालाई भ्रममा राखेर मत माग्ने मेरो उद्देश्य होइन,’ उनले भने, ‘म गर्न सकिने योजना र स्पष्ट प्रतिबद्धता बोकेर आएको छु ।’ ढुङ्गानाले विकासका नाममा असम्भव आश्वासन दिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनको प्रमुख योजनामध्ये सहिद दशरथचन्द विश्वविद्यालयमा स्वास्थ्य शिक्षण कार्यक्रम सञ्चालन गर्ने पहल रहेको छ । सुदूरपश्चिम प्रदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा विस्तार गर्न सके स्थानीय विद्यार्थीलाई अवसर मिल्ने र क्षेत्रको स्वास्थ्य सेवा प्रणाली सुदृढ हुने उनले बताए । ‘उच्च शिक्षा र स्वास्थ्य क्षेत्रको विकास बिना समग्र समृद्धि सम्भव छैन,’ उनले भने ।

ढुङ्गानाले मतदाताका आधारभूत आवश्यकता अझै पूर्णरूपमा सम्बोधन नभएको स्वीकार गर्दै सडक, खानेपानी, रोजगारी र गुणस्तरीय शिक्षा जस्ता विषयमा दीर्घकालीन समाधान आवश्यक रहेको बताए । उनका अनुसार जनताले अब केवल नारामात्र होइन, सुशासन र पारदर्शिता चाहेका छन् । ‘जनता भ्रष्टाचारमुक्त समाज खोजिरहेका छन्,’ उनले भने ।

उनले आफू कुनै पनि प्रकारको अनियमिततामा संलग्न नहुने प्रतिबद्धता व्यक्त गरे । ‘जुन दिन म अनियमिततामा संलग्न हुन्छु, त्यही दिन राजीनामा दिन तयार छु,’ उनले भने । सार्वजनिक पदलाई जिम्मेवारी र विश्वासको विषयका रूपमा लिँदै उनले जवाफदेहिता कायम राख्ने वाचा गरे । विगतमा निर्वाचित प्रतिनिधिहरूले जनअपेक्षा पूरा गर्न नसकेको गुनासो जनताबाट आएको उल्लेख गर्दै ढुङ्गानाले आफू फरक शैलीमा काम गर्ने बताए । ‘मैले आफ्ना योजना सार्वजनिक गरिसकेको छु । आश्वासन होइन, गरेर देखाउने मेरो प्रतिबद्धता हो,’ उनले भने । विकास योजनालाई प्राथमिकता निर्धारण गरी चरणबद्ध रूपमा कार्यान्वयन गरिने उनको भनाइ छ ।

चुनावी प्रतिस्पर्धाबारे बोल्दै उनले आफ्नो मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग रहेको बताए । यद्यपि उनले वास्तविक धरातलभन्दा बाहिर गएर हल्लाको भरमा मतदाता प्रभावित गर्ने प्रयास भइरहेको आरोप लगाए । ‘हाउगुजीको भरमा आकर्षित गर्ने प्रयास भइरहेको छ, तर जनताले यथार्थ बुझिसकेका छन्,’ उनले भने ।

ढुङ्गानाले आफू बलियो अवस्थामा रहेको दाबी गर्दै अन्तिम नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे । ‘म जितको निकै नजिक छु,’ उनले दोहो(याए । उनका अनुसार चुनाव केवल दलबीचको प्रतिस्पर्धा नभई विकासको दृष्टिकोण र कार्यशैलीबीचको प्रतिस्पर्धा पनि हो । उनले मतदातालाई भावनामा होइन, काम गर्ने क्षमता र स्पष्ट योजनाका आधारमा निर्णय गर्न आग्रह गरे ।

‘कैलाली क्षेत्र नम्बर ५ को समग्र विकासका लागि दीर्घकालीन सोच, इमान्दार नेतृत्व र जवाफदेही प्रतिनिधित्व आवश्यक छ,’ उनले भने । आफूले यही मार्ग अपनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदाताको साथ र विश्वास कायम रहने आशा व्यक्त गरे । उनले पार्टीभित्र कुनै विवाद नरहेको बताउँदै – ‘यो विपक्षीले फैलाएको हल्ला हो ।’