सहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा र निःशुल्क औषधि: यज्ञराज ढुगांनाको स्वास्थ्य सुधार प्रतिबद्धता

धनगढी – नेकपा एमालेबाट कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार यज्ञराज ढुगांनाले सहरी स्वास्थ्य केन्द्रहरूमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा जनताका गुनासा सुन्दै उनले स्वास्थ्य सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउने योजना सार्वजनिक गरेका हुन्।

ढुगांनाका अनुसार क्षेत्र नम्बर ५ अन्तर्गतका हरेक वडामा सञ्चालनमा रहेका सहरी स्वास्थ्य केन्द्रमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक, आवश्यक स्वास्थ्यकर्मी र आधारभूत निःशुल्क औषधिको व्यवस्था गरिनुपर्नेछ। “जनताले सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने, “वडास्तरमै समस्याको पहिचान र प्राथमिक उपचारसँगै केही विशेषज्ञ सेवा उपलब्ध गराउन सकियो भने स्वास्थ्य सेवा पहुँचयोग्य बन्छ।”

ढुगांनाले सुदूरपश्चिमकै प्रमुख सरकारी अस्पताल सेती प्रादेशिक अस्पताललाई सुधार र स्तरोन्नति गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनका अनुसार सेती अस्पताललाई नर्सिङ, फार्मेसीलगायत स्वास्थ्य विषयको अध्यापन सञ्चालन हुने शिक्षण अस्पतालका रूपमा विकास गर्न आवश्यक छ। “अत्याधुनिक र अति–विशेषज्ञ सेवा सेतीमै उपलब्ध गराउन सकियो भने सुदूरपश्चिमका बिरामीलाई बाहिर धाउनुपर्ने बाध्यता हट्छ,” उनले बताए।

यसका साथै जिल्ला तथा स्थानीय तहका अस्पतालमै विभिन्न विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने उनको धारणा छ। स्वास्थ्य क्षेत्रमा सुधार भए मात्र शिक्षा, पूर्वाधार र आर्थिक विकासका अन्य योजनाहरू प्रभावकारी रूपमा अघि बढ्न सक्ने उनले उल्लेख गरे।

तराई क्षेत्रमा बसोबास गर्ने नागरिकसमेत सुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको गुनासो आफूले प्रत्यक्ष रूपमा सुनेको ढुगांनाले बताए। उनका अनुसार वडास्तरका स्वास्थ्य केन्द्र सशक्त बनेमा रोग लुकाएर बस्नुपर्ने अवस्था अन्त्य हुनेछ र समयमै उपचार सम्भव हुनेछ। “स्वास्थ्य नै पहिलो आधार हो,” उनले भने, “जनताको स्वास्थ्य सुधार भए मात्रै समग्र विकासले गति लिन्छ।”

स्वास्थ्य क्षेत्र सुधारसँगै ढुगांनाले ‘डिजिटल धनगढी’ अभियान, धनगढी विमानस्थल स्तरोन्नति र धनगढीलाई महानगरका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका छन्। यी योजनाले क्षेत्र नम्बर ५ मात्र नभई समग्र कैलालीको विकासमा टेवा पुग्ने उनको विश्वास छ। निर्वाचन नजिकिँदै जाँदा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढेको ढुगांनाको प्रतिबद्धताले मतदातामाझ चर्चा पाएको छ।