धनगढी ! आफ्नो क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना तथा जनमुखी नेतृत्वको प्रतिबद्धतासहित कैलाली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. ५ का एमाले उम्मेदवार यज्ञराज ढुंगानाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।
कैलाली क्षेत्र न. ५ मा एमाले उम्मेदवार ढुंगानाले आफ्नो चुनावी अभियानलाई तीव्रताका साथ अगाडि बढाएका हुन् । एमाले मुल निर्वाचन परिचालन कमिटीले हाल क्षेत्र न.५ का प्रत्यक वडाहरुमा आफ्नो चुनावी सम्पर्क कार्यालय खोलिसकेको छ। वडाका उक्त कार्यक्रममा उपस्थित जनतामाझ आफ्ना भावी कार्ययोजना एवं प्रतिबद्धता बारे उम्मेदवार ढुंगानाले बताइसकेका छन् ।
नेकपा एमालेका उम्मेदवार ढुंगानाले खासगरी शिक्षा,स्वास्थ्य र रोजगारीका विषयमा जनतालाई पार्न सकिने प्रभाव र त्यसमा आगामी दिनमा आफुले खेल्न सक्ने भुमिकाका बारेमा आफ्ना एजेन्डाहरु राख्ने गरेका छन् । स्वास्थ्य क्षेत्रमा काम गरिरहेका ढुंगाना धनगढीमा अवस्थित नवजीवन हस्पिटलका अध्यक्ष समेत हुन् । उम्मेदवार ढुंगानाले उक्त हस्पिटलमार्फत त्यस क्षेत्रका आर्थिक रुपले विपन्न जनताहरुलाई विगतदेखि विभिन्न सुविधामा उपचार गराइरहेका छन् । उम्मेदवार ढुंगानाको उक्त एजेन्डाहरु आम मतदाताले रुचाएको र आगामी निर्वाचनमार्फत उनलाई विजयी बनाउने प्रतिबद्धता समेत गरेको पाइएको छ।
उम्मेदवार ढुंगानाले आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ आफू राजनीतिलाई व्यवसायका रुपमा नभै सामाजिक सेवाका रुपमा उपयोग गर्ने बताएका छन् । वर्तमान समयमा जनतामा छाएको निरासालाई मध्यनजर गर्दै आफू युवा उम्मेदवारपनि भएकाले पछिल्लो युवापुस्ताको एजेन्डाहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताएका छन् । उनले आफू देशमा बढिरहेको बेरोजगारीको न्यूनीकरण र सुशासनको पक्षमा सधैं प्रतिबद्ध हुने उल्लेख गरेका छन् । उम्मेदवार ढुंगानाका उक्त प्रतिबद्धताहरु सुनेर अधिकांश मतदाताहरुले खुसी व्यक्त गर्ने गरेका छन् ।
कैलाली क्षेत्र न.५ मा अन्य उम्मेदवारहरु भन्दा ढुंगानाको लोकप्रियता निकै बलियो देखिन्छ। सरल स्वभावका ढुंगाना जनतामा घुलमिल हुने र सुखदुःखमा साथ दिने नेताका रुपमा चिनिन्छन।
