एमालेको सचिवालय बैठक आज बस्दै : महाधिवेशन केन्द्रित एजेन्डामा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्दैछ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार बैठकले महाधिवेशन तयारीसम्बन्धी विभिन्न उपसमितिहरु गठन गर्ने र अन्य आवश्यक निर्णयहरु लिनेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ गौतमले भने ।

विशेषगरी, ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको च्यासलस्थित केन्द्रीय कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो । यसअघि एमालेका महत्वपूर्ण बैठकहरु अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दै आएका थिए ।

हाल आंशिक रुपमा सञ्चालनमा आएको च्यासल कार्यालयमा यसअघि संगठन विभाग र संसदीय दलका बैठकहरु बसिसकेका छन् । यद्यपि, पार्टीको सर्वोच्च निकाय सचिवालयको बैठक भने यहाँ पहिलोपटक बस्न लागेको हो ।