काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ। ३ दिनसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुनेछ। एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ।
विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पेस हुने छन्।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहन एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। उनले भने, ‘यो महाधिवेशनले पार्टीको विचारमाथि छलफल गर्नेछ। राष्ट्रिय महाधिवेशनले नेतृत्वमाथि छलफल गर्छ।’
विधान महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्। पोखरेलका अनुसार महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू बिहीबार नै काठमाडौं आइपुगिसकेका छन्।
