काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय भएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न आज बिहान महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बस्दैछ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीन वटा प्रतिवेदन राजनीतिक,सांगठनिक र विधान छपाइको काम भइरहेको छ। यस्तै निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको क्रममा रहेको छ। प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ। एमाले स्रोतका अनुसार भदौ १९ गते पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य केही प्राविधिक विषयमा निर्णय हुनेछ।
प्रमुख गौतमका अनुसार भदौ १८ गते प्रचार तथा प्रकाशन विभागका तर्फबाट पत्रकार सम्मेलनमार्फत महाधिवेशनको अन्तिम तयारीको जानकारी गराइने छ। परिचय पत्र अनलाइनमार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ। डा.अधिकारीका अनुसार गोदावरी स्थित सनराइज हलमा छिर्नका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्यूआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ। खाना र खाजाका लागि हिजो नै एक व्यांकेटलाई जिम्मा दिइएको छ।
महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको छ। विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीले सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार निर्माण र हसिंया हथौडा र सूर्य चिन्ह अंकित झण्डा राख्ने तयारी गरेका छन्। ललितपुर जिल्ला कमिटीले सडकमा झण्डा राख्ने काम गर्दैछ। यसैगरी भक्तपुर जिल्ला कमिटीले जडिबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासे पुलमा महाधिवेशनको नारा र लोगो अंकित व्यानर र चोकचोकमा झण्डा राख्ने तयारी थालेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए।
