एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेको आज केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् । साथै, आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुनेछ ।

विधान संशोधनको खाका बनाउन यसअघि नै पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिइएको थियो । जसअनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन् ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए । आजको बैठकले साउन २ गते बस्ने पार्टी पोलिटव्यूरोको र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ ।