काठमाडौँ । नेकपा एमालेले नेताहरू विदेश भ्रमणमा जानुअघि पार्टीमा जानकारी गराउनुपर्ने निर्णय गरेको छ । आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रचार तथा प्रसारण विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधि स्थापित गराउनका लागि यो निर्णय गरिएको हो ।
पार्टीका केन्द्रीय कमिटीका नेताहरू, सांसद र मन्त्रीहरूलाई विदेश जानुअघि पार्टीलाई जानकारी दिनुपर्ने उनले जानकारी दिए ।
त्यस्तै, फर्केर आएपछि त्यसको प्रतिवेदन अनिवार्य बुझाउनुपर्ने निर्णय भएको गौतमले जानकारी दिए ।
विदेशमा हुने जुनसुकै कार्यक्रम पनि कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो भन्ने कुरा स्पष्ट जानकारी गराउनुपर्ने एमाले निर्णयमा भनिएको छ ।
त्यस्तै, एमालेले नीति कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्ने प्रयोजनका लागि स्थानीय तहका जनप्रतिनिधिहरू पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षसमेतको सहभागितामा राष्ट्रिय भेला गर्ने निर्णय पनि गरेको छ ।