तीन आयोजनाबाट आज १५० मेगावाट विद्युत उत्पादन बन्द हुने

काठमाडौं। आज लमजुङ जिल्लामा सञ्चालित तीनवटा जलविद्युत आयोजनाबाट १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको हो ।

मर्मत सम्भारका कारण ती आयोजनाका विद्युतगृह आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने जनाइएको छ ।

अघिल्लो वर्षको असारमा आएको बाढीपहिरोका कारण मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको थियो । सोही ठाउँमा निर्माण गरिएको नयाँ टावरमा उक्त प्रसार लाइनका तारहरु टाँग्नुपर्ने भएकाले सो प्रसारण लाइनमा जोडिएका विद्युतगृहबाट हुने विद्युत उत्पादन एक दिनका लागि बन्द गरिएको जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणले बन्द हुने १५० मेगावाट बिजुली आज वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई आपूर्ति गर्ने जनाएको छ । आज नेपालबाट भारततर्फ निर्यात हुने विद्युत आपूर्ति समे कम हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *