काठमाडौं : काठमाडौं भारतले ६ सय मेगावाट थप विद्युत् नेपाललाई दिने भएको छ। बिहानको २ बजेदेखि साँझको ५ बजेसम्म १५ घण्टाका लागि थप बिजुली दिने भएको हो। यसअघि मार्च १५ देखि भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजे) मा मात्र बिजुली दिइँदै आएको थियो। थप गरिएको बिजुली ढल्केवर–मुज्जफपुर प्रसारण लाइनबाट आयात हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।बिहीबार बिहान भारतले स्वीकृत दिएकोले राति १२ बजेबाट थपिएको बिजुली आयात गरिने शाक्यले जनाए।
सुक्खायाममा नदीमा पानीको बहाब घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो छ। तसर्थ भारतबाट विद्युत् आयात भने भइरहेको छ। प्राधिकरणको तथ्यांकअनुसार हालः विद्युत्को आन्तरिक उत्पादन औसत करिब ११ सय ७५ मेगावाट रहेको छ भने विद्युत्को उच्च माग २ हजार ७७ मेगावाट छ। विद्युत्को उच्च मागको समयमा विद्युत् उत्पादन १५ सय ९३ मेगावाट हुने गरेको छ। आन्तरिक उत्पादनले नपुगेको बिजुली भारतबाट आयात गरिँदै आइएको छ। नेपालले छिमेकी मुलुक भारतबाट पावर एक्सचेन्ज कमिटी (पीईसी) मार्फत बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १३२ केभी लाइनमार्फत अधिकतमा ३५० मेगावाट विद्युत् आपूर्ति गर्ने अनुमति पाएको हो।