उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

काठमाडौँ- काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ ।

प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२-११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।

यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । भक्तपुरको चाँगुनारायण सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । सबस्टेशनलाई सञ्चालनमा ल्याउन मात्र बाँकी छ । चोभार सबस्टेशन आगामी असारभित्र र भक्तपुरको ठिमी सबस्टेशन आगामी आठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

ती सबस्टेशनको क्षमता ९०-९० एमभिए छ । सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकामा थप करिब पाँच सय मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार तयार हुने छ । हाल काठमाडौँ उपत्यकाको विद्युत् माग पाँच सय मेगावाटको हाराहारीमा छ ।

भविष्यमा वृद्धि हुनसक्ने विद्युत्‌को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५० को समयसीमा निर्धारण गरी काठमाडौँ उपत्यकाका प्रमुख क्षेत्रमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

सन् २०५० सम्ममा काठमाडौँ उपत्यकाको विद्युत्को उच्चतम माग तीन हजार एक सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको हो ।

सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण भइसकेको छ । कुल दुई सय २० केभी प्रसारण संरचनाले काठमाडौँ उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी दुई सय २० केभीको रिङ निर्माण गर्न सर्वेक्षणलगायत पूर्वतयारीका काम सम्पन्न भइसकेका छन् ।

तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्तिका लागि ४००-२२०, २२०-१३२ र १३२-११ केभी क्षमताको लप्सीफेदी सबस्टेशन निर्माणाधीन छ ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सशस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजना सञ्चानमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपत्यकाभित्रको विद्युत् बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन भौतिक पूर्वाधार निर्माणलाई गति दिइएको जानकारी दिनुभयो ।

काठमाडौँको दक्षिण-पूर्वी क्षेत्रको विद्युत् आपूर्ति सुधारका लागि कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा १३२-११ केभी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । चपली-भक्तपुर १३२ केभी प्रसारण लाइनलाई मूलपानी सबस्टेशनमा छिराएर विद्युत् आपूर्ति हुने छ ।

सो सबस्टेशनबाट जडीबुटी, पेप्सीकोला, काँडाघाँरी, गोठाटार, मूलपानी, जोरपाटी, साँखु, ठिमीलगायत क्षेत्रमा विद्युत् आपूर्तिका लागि ११ केभी क्षमताका आठवटा फिडर निकालिएको छ । सो सबस्टेशन आगामी चैतभित्र सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

चोभार सबस्टेसनबाट चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुग्नेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी क्षमतामा स्तरोन्नति गरिँदैछ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धिमा लाइन जोडिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी, एसियाली विकास बैंक (एडिबी), जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको हो । रासस