काठमाडौं ! वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आज शनिवार उम्मेदवारी दर्ता हुँदै छ । प्रतिनिधिसभा अन्तर्गत इलाम-२ र प्रदेशसभा अन्तर्गत बझाङ १(१) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको समय तय गरिएको छ । आजै साँझ नै मनोनयन सूची प्रकाशन हुनेछ भने आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । सोही दिनको अपराह्न ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने, २६ गते बेलुका उम्मेदवारको नामावली प्रकाशन गरिने, २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तय गरिएको आयोगले उल्लेख गरेको छ ।
२७ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पाँचबजेसम्म निर्वाचन निह्न प्रदान गरिने कार्यतालिका छ । मतदान भने २०८१ वैशाखा १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।
इलाममा तत्कालीन सांसद सुवास नेम्वाङको निधन भएपछि र बझाङमा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएकोले निर्वाचन हुन लागेको हो ।