देशको पाँचवर्षे भविष्यका लागि आज निर्वाचन

काठमाडौँ । देशको आगामी पाँचवर्षे भविष्यका लागि आज संघीय निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएयताको यो दोस्रो निर्वाचनमा आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरु छनौटका लागि मतदान हुनेछ । यसअघि २०७४ सालमा पहिलो संघीय निर्वाचन दुई चरणमा गरी (मङ्सिर १० र २१ गते) सम्पन्न भएको थियो ।

यसपटक भने दुवै तहका लागि एकै चरणमा मतदान हुँदैछ । आज आइतबार बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान जारी रहनेछ । आजै बेलुकाबाट मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजको मतदानबाट २७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् । जसमा १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणाली र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

गत साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ (आज)का लागि निर्वाचन मिति घोषणा गरेको थियो । सोही बमोजिम आज मतदान हुन लागेको हो । मतदानका लागि सबै तयारी सकिएको र शान्त वातावरणमा मतदान हुने आयोगले जनाएको छ ।

मतदान सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै आजै रातिदेखि मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ ।

यसपटकको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६१ दल र समानुपातिकतर्फ ४७ दलले भाग लिएका छन् । आजको मतदानबाट मुलुकको आगामी पाँच वर्षका लागि सरकार गठनको जनादेश तथा नीति निर्माणका लागि प्रतिनिधिहरु चुन्ने हुँदा यो निर्वाचन महत्वपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *