प्रत्यक्षतर्फ ४९५ प्रकारका मतपत्र हुने

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली ९प्रत्यक्ष०तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ ।

आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ फरकफरक मतपत्र रहने बताएको हो । ती मतपत्रको छपाइ बिहीबारबाट सुरु भएको छ ।

आयोगकाअनुसार प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

यसैगरी, ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ३ सय ३० प्रकारकै मतपत्र प्रयोग हुनेछ ।

प्रतिनिधि र प्रदेशसभामा गरी २÷२ करोड गरेर कुल ४ करोड मतपत्र आवश्यक पर्ने आयोगले बताउँदै आएको छ । सो संख्याको १० प्रतिशत मतपत्र जगेडा छपाइ हुनेछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक, प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा फरक मतपत्र प्रयोग हुने जानकारी दिए ।

‘१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १ सय ६५ प्रकार र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ ३ सय ३० प्रकारका गरी ४ सय ९५ प्रकारका मतपत्रको प्रयोग हुन्छ, ती मतपत्रको छपाइ बिहीबारबाटै सुरु भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले राजधानीसँग भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको मात्रै निर्वाचन चिह्न हुनेछ ।

अर्थात् कुनै पनि क्षेत्रमा उम्मेदवारी नदिएका दलका उम्मेदवारको भने चिह्न मतपत्रमा रहनेछैन । यसअघि स्थानीय तह निर्वाचनमा उम्मेदवार नहुँदा पनि मतपत्रमा दलको निर्वाचन चिह्न कायम हुँदा धेरै मत बदर भएको थियो ।

आयोगले सोही कारण यसपटक उम्मेदवार कायम भएकाको मात्रै निर्वाचन चिह्न राखेको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *