निर्वाचन लोकतन्त्रको जीवन पद्धतिः प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मंगलबार आयोजित ‘निर्वाचन रिपोर्टिङ अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ, निष्पक्ष, भयमुक्त, विश्वसनीय र पारदर्शी निर्वाचनका लागि सहयोग पुग्ने गरी विगतमा झैँ राससले योगदान दिने विश्वास व्यक्त गरे ।

“विश्वसनीयताको अर्को नाम रासस हो भन्ने फिलिङ मरिसकेको छैन । यो अवसरलाई निर्वाचनका समयमा उपयोग होस् । सूचना बैङ्कका रुपमा यसले मुलुकका हरेक घटना र समयको सजीव चित्र प्रस्तुत गरिरहन सकोस् । त्यसका लागि आयोगबाट हुने सहयोग र पहुँचमा कमी गरिने छैन,” प्रमुख आयुक्त थपलियाले भने ।

स्थानीय तहको निर्वाचन सम्पन्न हुनु तथा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तय हुनाले मुलुकमा कुन निर्वाचन कहिले हुन्छ भन्नेजस्ता प्रश्नहरु स्वतः अन्त्य हुनाका साथै संविधान र कानुनले तोकेबमोजिम पाँचवर्षे कार्यावधिमा निर्वाचन हुने प्रणाली स्थापित भई संविधान र सङ्घीयता कार्यान्वयनको उपयुक्त प्रक्रिया थालनी भएको अवसरका रुपमा लिनुपर्ने उनको भनाइ थियो ।

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका प्रमुख आयुक्त थपलियाले भने, “जनताले हरेक निर्वाचनबाट आफ्नो सार्वभौम अधिकार प्रयोग गर्छन् । मतदाताले चुन्न पाउने यो लोकतन्त्रको सुन्दर पक्ष र अवसर हो । यसलाई स्वच्छ र निष्पक्ष बनाउनु हामी सबैको दायित्व हो । मतदाताले निर्वाचन प्रणालीसँग आफूलाई अभिन्नरुपमा जोडेकाले त्यसको सम्मान हुने गरी हामीले स्थान दिन सक्नुपर्छ ।”

आउने निर्वाचनका लागि मतदाता नामावलीको विवरण चाँडै सार्वजनिक गरिने र मतदानस्थल तथा केन्द्रहरुको पुनरावलोकनका लागि आएका सिफारिसमाथि पनि निर्णय हुने जानकारी दिँदै उनले निर्वाचनका क्रममा सञ्चारमाध्यमको दुरुपयोग हुने, मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति प्रस्तुत हुन सक्ने हुनाले त्यसलाई नियन्त्रण गर्न पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

प्रमुख आयुक्त थपलियाले कसैले बोलेका कुरा भन्दैमा त्यो आम नागरिकमाझ दिन लायक छ÷छैन भन्ने आँकलन नगरी निश्चित उम्मेदवार, दल वा अमुक सञ्चारमाध्यमलाई मात्र लाभ हुने गरी सामग्री प्रस्तुत गर्न नपाइने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *