महानगर प्रमुखको उम्मेदवारी दिने केहिको मत चाहिँ शून्य

काठमाडौँ। वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा हाक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् ।

प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमतीको काठमाडौँ, ललितपुर र भरतपुर तथा गण्डकीको पोखरा महानगरपालिका गरी छ महानगरमा १६१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए ।

यसरी ती प्रत्याशी आफू मत हाल्न गएनन् वा गए पनि अन्य उम्मेदवारलाई मत हाले वा प्रमुख पदमा मत नै नहालेर फर्किए । आफूलाई मत नहाल्नेमध्ये वीरगञ्जका छ र काठमाडौँका एक उम्मेदवार छन् ।

वीरगञ्जका शत्रुघ्न कुर्मी, सगिर अलि, कैलाश सर्राफ, सुनील कलवार, बिक्कीराज पटेल र फरोज आलमको कुनै मत पाउनुभएन ।

काठमाडौँ महानगरपालिकामा मतगणनाको अन्तिम दिन राजन कार्की र जेठा महर्जनले एक–एक मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोशन शाहीले भने मतगणनाको अन्तिम परिणाम आइसक्दा कुनै मत पाउनुभएन ।

त्यस्तै ४५ जना महानगर प्रमुखका दाबेदारको मत दोहोरो अङ्कमा पुगेको छैन । पोखराका एक उम्मेदवार रनबहादुर दमैले पाँच मत पाउनुभएको छ ।

दोहोरो अङ्कमा मत नपाउनेमा वीरगञ्जमा २१, काठमाडौँमा १८ र भरतपुरमा छ जना हुनुहुन्छ ।

प्रमुख वा अन्य पदका लागि मनोनयन दर्ता गराउँदा उम्मेदवारले सवारी साधनसहितका सुविधा उपयोग गर्न पाउँछन् । निर्वाचन निर्देशिकाले उम्मेदवारै पिच्छे नै सवारी साधनको सङ्ख्या तय गरेको हुँदा सशक्त उम्मेदवारले निर्देशिकाले तोकेकोभन्दा बढी सवारी साधन उपयोग गर्न ‘डमी’ उम्मेदवारको सहयोग लिँदै आएका छन् ।

निर्वाचन आयोगका आचारसंहितालाई छल्न सशक्त उम्मेदवारले नै आफ्नो ‘डमी’ उम्मेदवार दिएको अभ्यास विगतमा समेत देखिएको छ । यसरी शून्य मत वा केही मात्र मत पाउने उम्मेदवार ‘डमी’ उम्मेदवार हुनसक्छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *