स्थानीय निर्वाचन : पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा गुरुङ निर्वाचित

पोखरा ! कास्कीको पोखरा महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपमेयरमा नेकपा (एमाले) की  मञ्जुदेवी गुरुङ विजयी भएका छन्।

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गरे । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी थापाले ५२ हजार ८४८ मत ल्याए ।

यसैगरी प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ६७४, स्वतन्त्रका खडकराज पौडेलले तीन हजार ३०, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमप्रसाद गुरुङले ५४६ र विवेकशील साझाका सुशीला केसीले ३३८ मत प्राप्त गरे । पोखराको प्रमुखमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
यसैगरी उपप्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ दोस्रो कार्यकालका लागि विजयी भए । गुरुङले ६० हजार ५४६ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रत्यासी रानाभाटले ५६ हजार ६६३ मत ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *