इलामको फाकफोकथुममा गठबन्धन हराउँदै एमालेका खनाल विजयी

इलाम — इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित भएका छन् । उनले ५ हजार ३ सय २२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै कल्पना राई ५ हजार १ सय ५८ मत ल्याई विजयी भइन् । प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका कुलबहादुर राई (वान्तवा)ले ४ हजार १ सय ७२ मत प्राप्त गरे । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा नेपाली कांग्रेसका राम श्रेष्ठ विजयी भएका थिए । खनाल श्रेष्ठसँग उति बेला पराजित भएका थिए ।

इलामका १० वटा पालिकामध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले इलाम नगरपालिकासहित सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको छ । एमालेले माई र देउमाई नगरपालिकासहित फाकफोकथुम, माइजोगमाई र माङसेवुङ गाउँपालिका जितेको छ । माइजोगमाई र इलाम नगरपालिकामा उपप्रमुख कांग्रेसले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *