चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द

ढोरपाटन (बागलुङ) । अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका-९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।

ढोरपाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र सापकोटाले गत पुस १५ गतेबाट बन्द गरिएका विद्यालय  आगामी फागुन १ गतेबाट मात्रै सञ्चालन हुने जानकारी दिए । ती छ विद्यालयमा करिब तीन सय विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ । उनले भने, ‘ढोरपाटन उपत्यका क्षेत्रका छवटा विद्यालय बन्द छन्, अब फागुन लागेपछि मात्रै खुल्छन्, एउटा जनवादी आधारभूत विद्यालय भने बोबाङ झरेको छ, पहिलेदेखि नै घुम्ती विद्यालय हो, यो बर्खामा ढोरपाटन, हिउँदमा बोबाङबाट पढाइ हुन्छ, यहाँका स्थानीय पनि हिउँद-बर्खा छुट्टाछुट्टै ठाउँमा बस्ने हुँदा विद्यालय पनि सोहीअनुसार सञ्चालन भएको छ ।’ रासस