संस्कृत विश्वविद्यालयमा प्राध्यापकको अभाव हुँदा पठनपाठनमा समस्या

काठमाडौं । बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

“अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ”, विद्यार्थी अभय प्रताप चौबले भन्नुभयो, “म कैलालीबाट बिएएमएस पढ्न पनि आएको हुँ, तर यहाँको पढाइ निकै कमजोर रहेछ ।” एउटा प्राध्यापकले १२ पिरियड पढाउनुपर्नेमा २५–३० पिरियड पढाइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै झापाबाट बिएएमएस पढ्न आउनुभएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताउनुभयो । “प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउनुहुन्छ, त्यो पनि पढाइले गुण्स्तर सिकाइ भएकोे छैन”, उहाँले भन्नुभयो, “एक हप्तादेखि हामी कलेज नै गएका छैनौँ”, उहाँ नवौँ ब्याचको विद्यार्थी हुनुहुन्छ ।

त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११औँं ब्याचको रूपमा आउनुभयो । तर उहाँले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएका छैनन् । “म पहिलो दिन भर्ना हुँदा नै आन्दोलनको ‘फेस’ गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनुभएको छैन ।”

पदार्थ विज्ञान एक दिनमात्रै पढाइ भएको उहाँले बताउनुभयो । त्यस्तै तीनवटा विषयको अहिलेसम्म पढाइ नै सुरु भएको छैन । अहिले संस्कृतका केही कक्षामात्रै चलिरहेको भन्दै यस्तो पाराले सिकाइ प्रभावकारी नहुने उहाँको भनाइ छ । “हामीलाई अहिले संस्कृतमात्रै घोकाइरहनुभएको छ, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो”, उहाँले भन्नुभयो, “घोकेर पछि बिरामीलाई हामीले कसरी उपचार गर्ने, निकै गाह्रो भएको छ ।” पहिला पास भएर गएका डाक्टरले पनि एउटा सिरिञ्जसमेत लगाउन नजान्ने गरेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *