स्याङ्जा जिल्लाले पहिलो फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङको पढाइ हुने शिक्षालय पायो : पूर्वमन्त्री अर्याल

काठमाडौं ! पूर्वमन्त्री एवं नेकपा एमालेकी केन्द्रीय सचिव तथा पद्मा अर्यालले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ।

वालिङ स्कोलर्स फाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले आज स्याङ्जावासीको एउटा सपना पूरा भएको र उक्त सपना पूरा गर्ने कार्यमा आफू सहभागी भएर भूमिका निर्वाह गर्न पाउँदा निकै गर्व महसुस भएको बताउनु भएको छ। हजारौँ लाखौँ नेपाली युवाहरु आज सीपविहीन भएर कठिन काम गर्नुपरेको छ। पढेको शिक्षा र डिग्री दुबै बेकामे भएको छ भन्दै उहाँले एक घर एक सीपमूलक युवा र एक पालिका एक प्राविधिक शिक्षालय आफूहरुको एजेण्डा र नारा रहेको भन्दै स्याङ्जाको वालिङमा प्राविधिक शिक्षालय त्यो पनि फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङ कार्यक्रम ल्याउन पाउँदा भावूक भएको बताउनु भयो।

यहाँका नागरिकको चाह र आवश्यकता आज पूरा भएको छ। स्याङ्जा जिल्लाले पहिलो फार्मेसी र हाइड्रोपावर इन्जिनियरिङको पढाइ हुने शिक्षालय पाएको छ। यो कार्यक्रममा मात्र पहिलो होइन नतिजामा समेत पहिलो होस् र स्याङ्जा जिल्लाको‌मात्र नभई देशकै गर्व गर्नलायक संस्था बनोस् भन्दै उहाँले शुभकामना समेत दिनुभयो।

“यो कार्यमा अनवरत रूपमा खट्ने वालिङ स्कोलर्स फाउण्डेशनका अध्यक्ष कृष्णप्रसाद डुम्रे, यस फाउण्डेशनका सम्पूर्ण सदस्यहरु, अभिभावक र सिंगो समाज नै धन्यवादको पात्र हुनुहुन्छ” उहाँले भन्नुभयो।

उक्त कार्यक्रमबाटै पूर्वमन्त्री अर्यालले आफूलाई विश्वास गरी मत दिएर निर्वाचित गराउनुहुने सम्पूर्ण मतदाताहरुलाई सम्झेर धन्यवाद दिनुभयो। “तपाइँहरुले मत दिएर मलाई जिताउनुभयो। मैले देशकै निम्ति सम्झनलायक केही कामहरु गरुँ भनी सक्नेजति प्रयास गरेँ।” तपाइँहरु मेरो यादमा, मेरो मनमा, मेरो मुटुमा हुनुहुन्छ भन्दै अर्यालले यो ठाउँको विकासको लागि आफू अन्तिम समयसम्म लडिरहने अठौट व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *