एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ ।

गत १८ चैतमा एमबीबीएस परीक्षा दिनका लागि अरूको प्रवेशपत्रमा फोटो टाँसेर सहभागी भएका चार जना नक्कली परीक्षार्थीसहित पाँच जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिकसमेत छन् ।

महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए ।

‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *