अर्घाखाँची सिमेन्टको व्यापारिक छलाङ : भारतमा हुनथाल्यो निर्यात

काठमाडौं ! नेपालको सबैभन्दा ठूलो र स्तरीयमध्येको एक अर्घाखाँची सिमेन्टले सोमबारबाट आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो ।

कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थित शिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादन खरिद गरेको हो । ‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो । सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो । यसले भारतसँगको व्यापार घाटा कम गर्नमा सहयोग पुग्ने छ’, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल बताउँछन् ।

त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए । ‘अब मेरो चाहना उद्योगले उत्पादन गर्ने अधिकांश सिमेन्ट भारत निकासी होस् भन्ने हो’, उनले भने ।

मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाललगायत क्षेत्रमा चुनढुंगा खानी छैन । त्यही बजार ‘क्यास’ गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।

सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइला आयात गर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ । भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *