नेपाली दूतावासमा चुच्चे नक्सै गायब

काठमाडौं । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ ।

नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।

प्र्र्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आपत्ति जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित दूतावासमा नभएको’ भन्दै आपत्ति जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ‘प्रधानमन्त्री देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीस्थित दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको’ उल्लेख गर्दै आपत्ति जनाएका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *