आज महाकवि देवकाेटाको ११४ औँ जन्मजयन्ती

काठमाडाैँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *