पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइदै

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९\८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ ।

कोष सञ्चालक परिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार परिषद्का अध्यक्ष एवम् मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले रु ९६ करोड ८४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ ।

पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ ।

शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नानका लागि पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ ।

जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका बहुमूल्य निधिको संरक्षण र संवद्र्धनलाई कोषले प्राथमिकता दिएको सदस्य–सचिव डा मिलनकुमार थापाले बताउनुभयो । वैठकमा कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिने बारेमा पनि छलफल भएको थियो ।

गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताउनुभयो ।

पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा लाग्ने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

कोषका लागि चालु आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ पुँजीगत कार्यक्रम सञ्चालन गर्न रु २४ करोड विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *