नेपालमा खेलकुद विश्वविद्यालय खोल्न पहल गर्छु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनु भएको छ । आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले उक्त उद्घोष गर्नुभएको हो।

प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गरेको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि शुरुवात गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । उहाँले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । तरपनि आलेम्पिक लगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरु हुनुहुन्छ । हाम्रा युवाहरु पनि धेरै खेलकुदमा रमाउँछन् ।’

उहाँले थप्नुभयो, ‘हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभसिंटी खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ । तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तरपनि शुरुवात गर्ने हाम्रो सोचाइ छ । शुरुवात गर्नेछाैं । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *