महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाको जिकिर

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिलाविरूद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गर्नुभएको छ । साथै उहाँले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताउनुभएको छ । आज जेठ १६ गते महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदैछ ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गर्नुभएको छ । लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीयरूपमा वृद्धि भएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हकअधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने बताउनुभएको छ । नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *