बागी उम्मेदवार फिर्ता गर्न काङ्ग्रेस सभापति देउवाको निर्देशन

काठमाडौ ! नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी र सत्ता गठबन्धनको बागीका रुपमा उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिनुभएको छ । उहाँले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सक्रियताका लागिपर्न पनि अपिल गर्नुभएको हो ।

बिहीबार एक अपील जारी गर्दै देउवाले भन्नुभएको छ, ‘देशभरका स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ः०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।’
देशभरका वालिग मतदाताहरू स्थानीय तहमा आफ्ना प्रतिनिधि निर्वाचित गरी आगामी पाँच वर्षका लागि स्थानीय तहको सरकारको नेतृत्व सुम्पन अत्यन्तै उत्साहका साथ सक्रिय रहेका छन् । पाँच वर्ष अगाडि भएको स्थानीय तह निर्वाचनमा निर्वाचित राजनीतिक दल र जनप्रतिनिधिहरूको कार्यशैलीको समग्र मुल्याङ्कन गर्दै आगामी दिनमा थप योग्यता र निष्ठाको कसीमा खरो उत्रिने प्रतिवद्धताका साथ आफ्नो पार्टी र पार्टीले प्रस्तुत गरेका उम्मेदवारहरू र एजेण्डाको पक्षमा सुदृढ जनमत तयार गर्न सम्पूर्ण पार्टी पंक्ति हार्दिक एकताका साथ जुटिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *