राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनु भएको छ ।

शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उहाँले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले भन्नुभयो, “देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ, त्यसतर्फ सचेत रहँदै मुलुकको हित र स्वार्थमा कुनै किसिमको आँच नदिनेतर्फ हामी सबै सजग र प्रतिबद्ध हुन आवश्वक छ ।”
राष्ट्रिय सुरक्षालाई सर्वोपरि महत्व दिई सरकारले यस क्षेत्रको सुदृढीकरणको लागि राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलगायतका नीति र कार्ययोजना कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सुरक्षा एक संवेदनशील र चुनौतीपूर्ण विषय हो, राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउन अन्तर निकायबीच समन्वय र सहकार्य बलियो हुन बनाउन आवश्यक छ ।”
सार्वजनिक निकायमा काम गर्ने राष्ट्रसेवकलाई समयसापेक्ष तालिम र अभिमुखीकरणमार्फत मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीका विषय र समाधानका सम्भावित उपायबारे सूचित गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको एकीकृत प्रयासबाट सुरक्षा चुनौतीलाई सामना गर्न सबै निकाय सदैव सजग र सचेत रहनुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *