स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो । उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *