सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी विरुद्ध आक्रामक नहुन प्रधानमन्त्री देउवाको काङ्ग्रेस नेताहरुलाई निर्देशन

काठमाडौं ! नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेलाई चित्त दुखाउने गरी व्यवहार नगर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

स्थानीय तह निर्वाचनसम्बन्धी अभियान कार्यक्रमलाई पार्टी कार्यालय सानेपामा मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावी अभियानमा प्रतिपक्षलाई उग्र बनाउने गतिविधि नगर्न र सत्ता गठबन्धनलाई चित्त दुख्नेगरी अनावश्यक नबोल्न निर्देशन दिएको काङ्ग्रेसका एक केन्द्रिय सदस्यले सभ्यखबरलाई बताउनु भयो ।

‘निर्वाचनसम्बन्धी गतिविधिमा एमालेलाई उत्तेजक बनाउने गरी व्यवहार नगर्नू । गठबन्धनमा रहेका दलहरूको पनि चित्त दुखाउन आवश्यक छैन,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भन्नुभयो, ‘प्रतिपक्ष दलको अध्यक्षले उग्र व्यवहार गरेकै कारण अहिलेको अवस्था आएको हो । हामीले त्यसो गर्न आवश्यक छैन ।’

प्रधानमन्त्री देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गरेकै कारण विदेशीहरूसँग सम्बन्ध राम्रो भएको बताउनु भयो । उहाँले विशेष परिस्थितिमा काङ्ग्रेसले मात्र देशको नेतृत्व गर्ने र गरिरहेको स्पष्ट पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *