मुलुकमा विदेशी विनिमय सञ्चितिको अवस्थामा लगातार सुधार हुँदै

काठमाण्डौ । मुलुकमा विदेशी विनिमय सञ्चितिको अवस्थामा लगातार सुधार हुँदै गएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेकोमा समीक्षा अवधिमा १३.८ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ।

यसैगरी कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब २८ अर्ब ५ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१ खर्ब ५५ अर्ब २८ करोड कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *