काठमाडौँ । राजस्व अनुसन्धान विभागले करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया फरार छन् । विभागले बुधबार साँझ घरमा छापा मारे पनि उनी फेला परेनन् । सुन बरामद भएको एक सातापछि विभागले उनको घरमा छापा मारेको हो ।
त्यसक्रममा केही कागजात बरामद भए पनि उनी फेला परेनन् । विवादास्पद व्यापारी अडुकियाले विगतदेखि नै हङकङमा कार्यालय खोलेर चाँदीको व्यापार गर्दै आएका थिए । हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यनी फरार हुने अवस्था आएको हो ।
उनीसँगै शंकाको घेरामा देखिएका व्यापारी दीपक मल्होत्राले सुन तस्करीमा आफू संलग्न नरहेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए । ‘सुन तस्करीमा संलग्न देखिँदादेखिँदै विभागले पक्राउ गर्न ढिलाइ गर्दा अडुकिया फरार भएका हुन्,’ विभागकै एक कर्मचारीले भने । उनका अनुसार तथ्य र प्रमाण जुटाउन समय लागेकाले अकुडियाले फरार हुने मौका पाएका हुन् ।
हङकङबाट आएका सामानमा सुन आएको सुराकी पाएपछि राजस्वले रेडी ट्रेडको सोरूममा समेत छापा मारेको थियो । ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत आएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकियाको संलग्नता देखिएको हो । सोही आधारमा बुधबार साँझ राजस्व अनुसन्धान विभागले उनको कमलपोखरीस्थित निवासमा छापा मारेका थियो।
स्रोतका अनुसार हङकङको काउलिन सिटीमा उनको कार्यालय छ । उनी मात्र होइन, यसअधि सुन तस्करीमा मुछिएका व्यापारीहरूको पनि हङकङमा कार्यालय रहेको र त्यहीबाट सुन तस्करीमा सहयोगी भूमिका निभाउने गरिएको स्रोतको दाबी छ । ‘अहिले अनुसन्धान भइरहेको छ । तथ्य र प्रमाणकै आधारमा अनुसन्धान हुन्छ कोहीकसैलाई आरोप लगाउन अनुसन्धानमा तोडमोड हुँदैन,’ विभागका महानिर्देशक नवराज ढुंगानाले भने ।
व्यापारी अडुकिया गत अप्रिल १३ मा नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २१७ बाट नयाँ दिल्ली गएको, त्यहाँबाट हङकङ पुगेको र अप्रिल १९ तारिखका दिन बैंकक हुँदै थाई स्माइलको उडान नम्बर डब्लुई ०३१९ बाट काठमाडौं आएको ‘ट्राभल हिस्ट्री’ छ । –नागरिक दैनिकबाट