काठमाडौँ । भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा) मा जजिरा विमानबाट कुवेत हुँदै दुबई उड्न लागेकी झापाकी ३१ वर्षीया सम्झना लिम्बू (नाम परिवर्तन) लाई प्रहरीले विमानस्थलबाट फर्कायो । दलालले राहदानी, टिकट बैङ्किङ कागज र दुई सय अमेरिकी डलर हातमा थमाएर बुधबार बिहान साढे तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएका सम्झनासहित ३९ जना महिला यतिबेला माइत संरक्षणमा छन् ।
मकवानपुरकी २७ वर्षीया सुनिता परियार (नाम परिवर्तन) भिजिट भिसामा दुबई उड्न विमानस्थल पुग्दै गर्दा कुन ठाउँ जाने र कसलाई भेट्नेसम्म पत्तो थिएन । दलालले विमान टिकट, अमेरिकी डलर तथा आवश्यक काजपत्र हातमा थमाएर हतार हतार विमानस्थल पुर्याएकी उहाँलाई कुन कागजपत्र कहाँ देखाउने भन्नेसमेत जानकारी थिएन । प्रहरीले उहाँलाई उद्धार गरी माइती नेपालमा पुर्याएको छ ।
नक्कली काजपत्र तयार गरी भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खुलेआम मानव तस्करी हुन थालेपछि नियन्त्रणका लागि नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले विशेष अपरेसन सुरु गरेको छ । सुरक्षा कार्यालयले बुधबार र बिहीबार विभिन्न उडानबाट दुबई जान लागेका ९२ महिला र ८४ पुरुष गरी जम्मा १७६ जनालाई फिर्ता गराई माइती नेपालको जिम्मा लगाएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवालीले भिजिट भिसाको आवरणमा मध्यरातमा हुने उडानमार्फत खुलेआम मानव तस्करी हुन थालेको सूचनापछि नियन्त्रणका लागि विशेष अपरेसन सुरु गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भिजिट भिसामा जान लागेका यात्रुको कागजपत्र शङ्कास्पद छ । सोधपुछका क्रममा कसलाई भेट्न कहाँ जान लागेको भन्नेबारे समेत उनीहरूलाई जानकारी छैन । मानव तस्करीमा पर्ने आशङ्का देखिएपछि फिर्ता गरिएको हो ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।