अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनलमा प्रवेश

काठमाडौ ! दक्षिण अफ्रिका पहिलोपटक आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ ।

बिहीबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि एकदिवसीयमा पाँच र टी-२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्रम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

ओपनर क्विन्टन डी कक ५ रनमै बोल्ड भएका थिए ।

बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा बिहीबार बिहान टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए ।

दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए ।

दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।