विश्वकप क्रिकेटः अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश

काठमाडौं- अष्ट्रेलियामाथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को अन्तिम सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

सेन्ट लुसियामा भएको खेलमा जितका लागि २०६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८१ रनमा समेटिएको थियो ।

अष्ट्रेलियाका लागि टाभिस हेडले ७६ रन बनाएपनि टोलीको हार टरेन । यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याकवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले ११ रन बनाए । बलिङमा भारतका अर्सदिप सिंहले तीन विकेट लिए । कुलदिप यादवले दुई तथा जसप्रित बुमराह र असर पटेलले एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले ९२ रन बनाए । शर्माले ४१ बलमा सात चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । सूर्यकुमार यादवले ३१, शिभम् दुवेले २८, हार्दिक पाण्डेयले अविजित २७ र रिसव पन्तले १५ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्क र माकर्स स्टोइनिसले दुई-दुई तथा जोस हेज्लेउडले एक विकेट लिए । यो जितसँगै सुपर-८ मा अपराजित रहेको भारतले तीन खेलबाट ६ अङ्क जोड्दै समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ ।

उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । अष्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ ।

अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।