यू–१९ विश्वकप अन्तर्गत नेपालले आज न्यूजिल्यान्डसँग खेल्दै

काठमाडौं ! नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट राष्ट्र न्यूजिल्यान्डसँग भिड्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे वेस्ट लण्डनमा सुरु हुनेछ ।

समूह ‘डी’बाट शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्न आजको नतिजा दुवै टोलीलाई महत्वपूर्ण हुनेछ ।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्यूजिल्यान्डसँग हारेको छैन । यसअघि भएका २ खेलमा दुवैमा नेपाल विजयी भएको छ । सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।

नेपालका प्रशिक्षक जगत टमाटाले पहिलो खेल सधैं महत्वपूर्ण हुने र पहिलो खेलबाटै टिमले लय सेट गर्नुपर्ने बताएका छन् । उनले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी पनि गरेका छन् ।

नेपालले यसअघि दुई पटक मात्र समूह चरण पार गरेको छ ।