समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारतबीच खेल हुँदै

काठमाडौं ! एसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (मंगलबार) नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईमा हुने खेल बिहान सवा ११ बजे शुरू हुनेछ ।

समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रूपमा मात्र जिवित छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रोमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्ने झिनो सम्भावना छ । त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।

अफगानिस्तान २ खेलमा १ मा जीत र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंकविहीन हुँदै पुछारमा छ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपाल रहेको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

समूह ‘बी’मा आयोजक यूएई, बंगलादेश, जापान र श्रीलंका छन् । दुवै समूहमा शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन् । सो खेल पनि बिहान सवा ११ बजे नै शुरू हुनेछ ।